Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको चासो

सम्बन्धित पक्षलाई जिम्मेवार भएर युद्धविराम सम्झौता पालना गर्न आग्रह

1.1k
Shares

एजेन्सी । चीनले इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भएर युद्धविराम सम्झौता पालना गर्न आग्रह गर्नुभएकाे हाे। प्रवक्ता गुओले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको भन्दै यसप्रति सरोकारवाला पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभएको छ । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्नेमा चीनले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । साथै चीनले सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ ।

प्रवक्ता गुओले शान्तिको अवसर खुलेको यो समयको सदुपयोग गरी युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभयाे । यसअघि अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएको बताएको थियो । यसैबीच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगहाइले अमेरिकासँग हुने भनिएको वार्ताको अर्को चरणबारे कुनै योजना नभएको बताउनुभएको छ । अमेरिकाले आफ्ना अनुभवहरूबाट पाठ नसिकेको र यसबाट कहिल्यै राम्रो नतिजा ननिस्कने उहाँको भनाइ थियाे।

अमेरिकाले युद्धविराम लागू भएको पहिलो चरणमै यसको उल्लङ्घन गरेको र यसकाे बारेमा आफूहरूले पाकिस्तानी मध्यस्थकर्तालाई सूचित गरिसकेको खबरमा उल्लेख छ । इरानमाथि नौसैनिक नाकाबन्दी लगाएर अमेरिकाले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको इरानको आराेप थियाे ।