काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।
सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताउनुभएको हो ।
मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाई थियो । उहाँले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौँ । तपाईहरुको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ । हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुहुन्छ । राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ ।
नेपालको संविधान संशोधन गर्न तपाईलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौँ । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौ । यो हाम्रो शक्ति हो । यो एजेण्डा हो, यो मरेर मर्दैन । हामीले सुशासनको पक्षमा हिजो पनि लडेका थियौ, आज र भोली पनि लडिरहनु पर्छ, लड्छौँ पनि ।’
सो अवसरमा पार्टीका प्रवक्ता समेत रहनुभएका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराउनु भयो ।









प्रतिक्रिया दिनुहोस्