Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ


0
Shares

काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका विषयगत र संयुक्त गरी १२ वटा समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् ।

सिंहदरबारस्थित शुक्रबार सभामुख डोलप्रसाद अर्यालले एक कार्यक्रमकाबीच नवनिर्वाचित सभापतिहरूलाई शपथ गराउनुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी कानून न्याय तथा मानव अधिकार समितिमा रास्वपाकी समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा रास्वपाका आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका छन्।

संसदीय सुनुवाइ समितिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाका रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध , पर्यटन समितिमा रास्वपाकी सुम्निमा उदास र अर्थ समितिमा रास्वपाका कृष्णहरि बुढाथोकी सर्वसम्मत निर्वाचित भएका हुन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएका छन् ।

साथै, सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । रास्वपाको समर्थन पाएपछि खड्काको एकल उम्मेदवारी परेको थियो ।