काठमाडाैं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ ।
उद्योग विभागले चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको जनाएकाे हाे। गत साउनदेखि चैत मसान्तसम्म ६ सय १५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो । जसमार्फत २२ हजार ३ सय १६ जनालाई रोजगारी दिने पनि प्रतिवद्धतामा आएको छ ।
विभागका अनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको हाे । उद्योग विभागले परियोजनाका आधारमा सबै भन्दा बढी कृषिमुलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । गत चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको हाे ।
पर्यटन उद्योगको क्षेत्रमा १ सय ६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामुलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमुलक क्षेत्र (औद्योगिक) तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ र सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको हाे ।
त्यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । खनिजमुलक क्षेत्रमा पनि दुई वटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको विभागले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्