एजेन्सी । भारतको वस्तु र सेवासहितको कूल निर्यात आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४ दशमलव २२ प्रतिशतले बढेर ८६० दशमलव ०९ अर्ब अमेरिकी डलर पुगेको छ ।
यस आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्दै यस्ताे जानकारी दिनुभएको हो । उहाँले गत वर्षको तुलनामा यस वर्ष वस्तु निर्यात ० दशमलव ९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४३७ दशमलव ७ अर्ब अमेरिकी डलर रहेको वस्तु निर्यात यस आर्थिक वर्ष २०२५–२६ मा बढेर ४४१ दशमलव ७८ अर्ब अमेरिकी डलर पुगेको छ ।
इन्जिनियरिङ सामान, पेट्रोलियम उत्पादन, अभ्रक, कोइला र अन्य खनिज पदार्थ, अन्य खाद्यान्न र हस्तकलाका सामग्रीको निर्यातमा भएको वृद्धिले मुख्य रूपमा निर्यातको तथ्यांकलाई माथि उकासेको सचिव अग्रवालले बताउनुभयो । यी क्षेत्रहरूले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा पनि सकारात्मक प्रदर्शन गरेका छन् । तथापि, आयात निर्यातको तुलनामा अझ तीब्र गतिले बढेको हाे । आर्थिक वर्ष २०२५–२६ मा करिब ९ सय ७० अर्ब अमेरिकी डलर बराबरको आयात भएको छ । जुन गत वर्षको तुलनामा ६ दशमलव ४७ प्रतिशतको वृद्धि हो ।
आयातमा भएको यस वृद्धिका कारण देशको समग्र व्यापार घाटा गत वर्षको ९४ दशमलव ६६ अर्ब डलरबाट बढेर यस वर्ष ११९ दशमलव ३ अर्ब डलर पुगेको सचिव अग्रवालले बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्