Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


संसदका १२ विषयगत समितिकाे सभापति चयनका लागि आज निर्वाचन हुँदै

११ वटामा रास्वपाको नेतृत्व हुने, लेखा समितिको सभापति कांग्रेसलाई

273
Shares

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले शुक्रबार सभापति पाउँदैछन् ।

सम्बन्धित समितिको बैठकमा शुक्रबार सभापति निर्वाचनको कार्यसूची राखिएको हाे । बिहीबार संघीय संसद सचिवालयमा सबै समितिको सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ । १० वटा समितिमा निर्विरोध सभापति चयन हुँदैछन् भने दुई वटामा निर्वाचन हुनेछ । निर्वाचन हुनेमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु सभापति बन्दैछन् ।

संसदको कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले मनोनयन दर्ता गरेका छन् । उनीहरु सबै जना रास्वपाका सांसद रहेका हुन् । त्यसैगरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता गराएका छन् ।

सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरत बहादुर खड्काको मात्रै उम्मेदवारी परेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ । संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले मनोनयन दर्ता गराउनुभयाे । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)को मनोनयन परेको छ ।

शुक्रबारको बैठकमा मनोनयन सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र सभापति निर्वाचित भएको घोषणा हुने संसद सचिवालयले जनाएकाे हाे ।