Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


पोखरामा पनि निःशुल्क रूपमा सटल बस सेवा सञ्चालन


377
Shares

काठमाडाैं । पोखरा महानगरपालिकाले कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क सटल बस सेवा सञ्चालन गरेकाे छ।

महानगरले नयाँ वर्ष २०८३ को अवसर पारेर साेही विमानस्थलदेखि अम्मरसिंह चोकसम्म मंगलबारदेखि निःशुल्क सटल बस सेवा सञ्चालन गरिएको हो । महानगरका प्रमुख धनराज आचार्यले निःशुल्क सटल बस सेवाको शुभारम्भ गर्नुभयो । महानगरको पहलमा महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंकको सहकार्यमा सेवा सञ्चालन गरिएको हो ।

पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइनेछ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना छ । प्रमुख आचार्यले पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा पर्यटक तथा विमानस्थलमा झर्ने यात्रुले महँगो ट्याक्सी भाडाको गुनासो गरेपछि यसको विकल्पका रूपमा सटल बस सेवा शुरू गरिएको बताउनुभयाे ।

विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई पुर्‍याएपछि विभिन्न विकल्पबाट यात्रु गन्तव्यमा पुग्न सक्छन् । पहिलो चरणमा २ वटा बसबाट सेवा सञ्चालन गरिएको छ । प्रमुख आचार्यले बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको बताउनुभयाे। उहाँले पोखरा विमानस्थल हुँदै दैनिक ५ हजारसम्म यात्रु ओहोरदोहोर गर्ने जानकारी गराउनुभएकाे छ ।