Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


भृकुटीमण्डपका स्टलको करोडौं भाडा वक्यौताः रिपोर्टर्स क्लवदेखि पत्रकार महासंघसम्म ऋणी


0
Shares

काठमाडाैं । समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ र भवनहरूको करोडौं रुपैयाँ भाडा उठ्न बाँकी रहेको पाइएको छ ।

परिषद्ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न कहलिएका संघ–संस्था, मिडिया क्लव र राजनीतिक संगठनहरूले लामो समयदेखि भाडा नबुझाई वक्यौता राखेका छन् ।

सोमवारबाट भाडा नबुझाउने स्टलहरुमा परिषद्ले ताल्चा लगाएको छ । परिषद्को तथ्याङ्कअनुसार सबैभन्दा धेरै वक्यौता राख्नेमा मिडिया र सामाजिक संस्थाहरू अग्रपंक्तिमा देखिएका छन् । रिपोर्टर्स क्लव नेपालले स्टल नं. २२ को मात्रै ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा भाडा बुझाउन बाँकी छ । त्यस्तै, नेपाल पत्रकार महासंघको नाममा स्टल नं. ७ को ३३ लाख ७ हजार ४२१ रुपैयाँ ६५ पैसा वक्यौता देखिएको छ ।

राजनीतिक दल निकट संगठनहरूले पनि सरकारी सम्पतीको प्रयोग गरेर भाडा तिर्न अटेरी गरेको पाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्टल नं. ६० र ६१ को भाडा २०७७ साल चैतदेखि नै नबुझाएको परिषद्को विवरणमा उल्लेख छ ।

राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ । विवरणमा सबैभन्दा ठूलो रकम काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको नाममा देखिएको छ । यस संस्थाले दुईवटा स्टलको गरी कुल १ करोड रुपैयाँभन्दा बढी बक्यौता राखेको देखिन्छ ।