Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँ : माधवकुमार नेपाल


624
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताउनुभएको छ । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गर्नुभयो । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रिय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताउनुभयो ।

नेपालको राजनीतिमा कम्युनिष्टहरूले २००७ सालदेखि नै महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै उहाँले कम्युनिष्टहरू नै सच्चा देशभक्त भएको दाबी गर्नुभयो । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला संगठनलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावको परिणाम हामीले अपेक्षा गरेको भन्दा विपरित भयो । किनभने हामीले पार्टी एकीकरणको काम पनि अझै संगठनात्मक एकीकरणको काम पनि अझै सम्पन्न गर्न पाएका छैनौं । त्यसैले पनि अझै पनि पुरानै नाममा पनि कतिपय कामहरु भइरहेका छन् । पुरानै मानसिकता अझै हामीमा छँदैछ । एकीकरण गरिसकेपछि हामीले प्रशिक्षण दिनुपर्ने हो, त्यो पनि दिन सकेका छैनौं । स्वाभाविक रुपमा नयाँ परिस्थितिमा कसरी अगाडि बढ्नुपर्छ त्यसको पनि हामीले त्यस हिसावले जानकारी भनौं, ज्ञान भनौं, समझदारी भनौं, त्यो हामीले विकास गर्न सकेका छैनौं । अहिले हामी केन्द्रिय समन्वय समितिको संयोजक कमिटीको बैठक बसिरहेका छौँ । केन्द्रिय संयोजन कमिटी ४५ सदस्यीय छ । र त्यो कमिटीले अब सात दिनसम्म बैठक बसेर छलफलहरु गरेर आफ्ना धारणाहरु यसका सदस्यहरुले नेता कमरेडहरुले प्रश्तुत गर्नुभएको छ। उहाँले राष्ट्रिय समस्याको बारेमा, देशले भोग्नुपरेको समस्याको बारेमा, राजनीतिले भोग्नु परेको संकटको बारेमा, कम्युनिष्ट आन्दोलनले सामना गर्नुपर्ने समस्याको बारेमा, लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपर्ने समस्याहरुको बारेमा पनि आफ्नो विचार धारणाहरु राख्नुभएको छ । ती सबै विचार धारणाहरुको हामी मन्थन गर्नेछौँ र एउटा निष्कर्षमा हामी पुग्न गइरहेका छाँै । यसै क्रममा नै बैठकको बीचमा तपाईहरुको यो कार्यक्रम हामीले आयोजना गरिरहेका छौँ । तपाईहरुलाई थाहा छ हामीले संगठनात्मक एकीकरण गर्ने सन्दर्भमा पार्टी कमिटीहरुलाई एकतावद्ध गर्नुपर्नेछ, जनवर्गीय संगठनलाई एकतावद्ध गर्नुपर्नेछ। त्यसैगरी देश(विदेशमा रहेका हाम्रा नेपालीहरुको माझमा प्रवासमा रहेका नेपालीहरुको माझमा रहेको संगठनलाई पनि एकतावद्ध गर्नुपर्नेछ । जनवर्गीय संगठनहरुमध्ये विभिन्न जनवर्गीय संगठनहरु ती सबैलाई पनि एकतावद्ध गर्नुपर्ने छ । एउटा पार्टीको एक किसिमको संरचना हुन सक्दछ अर्को पार्टीको अर्को किसिमको संरचना हुन सक्दछ । त्यस सन्दर्भमा पनि हामीले छलफल गरेर एउटा हामीले निष्कर्षमा पुग्नुपर्ने हुन्छ । यी सबै कुराको सन्दर्भमा अब नयाँ सिलसिलामा जानुपर्ने यसै क्रममा तपाईहरुको यो नयाँ वर्ष आइपुगिसकेपछि क्यालेन्डर निकाल्ने काममा तपाईहरु लाग्नुभएको छ र यसरी वर्षभरि आफूले गरेका कामहरुको समेत मलाई लाग्छ यी फोटाहरुमा तपाईले त्यसको पनि विम्बहरु त्यहाँ अवश्य पनि प्रकाशित गर्नुभएको छ । हामीले अहिले भर्खरै सल्लाह गर्दै थियौ कि पार्टीको नाममा पनि एउटा क्यालेन्डर निकाल्दा राम्रै हुन्छ । देशभरि हामीले सन्देश सभा पनि गरेका छाँै, एकीकरण अभियान पनि सञ्चालन गरेका छौँ । यसरी हामीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका पनि खेलेका छौँ । यस अर्थमा अब यो एकताको भावना लिएर एकीकृत पार्टीको रुपमा अगाडि बढ्ने गरी हामी तपाई सबै अगाडि बढ्नुपर्छ। अहिले हामीले भन्ने गरेका छौ २६ वटा घटकहरु। २६ वटा घटकहरु विभिन्न तहमा हुनुहोला महिलाहरुको माझमा पनि हुनुहोला। ती सबैलाई पनि तपाईहरुले समेट्नुपर्ने आवश्यकता पर्छ। यसको निम्ति बस्नु पनि पर्छ। जुन संरचना छैन त्यो संरचनाहरुलाई कसरी समायोजन गर्ने भन्ने बारेमा पनि उपयुक्त तहले यसको टुंगो लगाउनुपर्छ । यस अन्तर्गत अब हामी छिट्टै नै यो एकीकरणको संगठनात्मक एकीकरणको काम पनि सम्पन्न गर्न गइरहेका छौँ । सकेसम्म हामी यो एक हप्ता भित्र नै टुंगो लगाउने ढंगले लागेका पनि छाँै । जतिसुकै पढे पनि परीक्षामा फेल भयो भने के अर्थ छ ? त्यसो हुनाले हामीले मात्रै होइन एउटा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ। तर सबैभन्दा खुसीको कुरा के हो भने अरु पार्टी विपक्षी पार्टीका नेताहरुले जित्न सकेनन् हाम्रो पार्टीको कमसेकम संयोजक कमरेड जित्नुभएको छ उहाँलाई धेरै धेरै बधाई। यस अर्थमा पनि राष्ट्रिय राजनीतिमा अब हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ। चाहे मधेसवादी दलको कुरा गरौं या अहिलेसम्मका अरु पार्टीहरुको कुरा गरौं ती सबैलाई पनि राष्ट्रियताको इस्युमा होस्, लोकतन्त्रको इस्युमा होस्, संघीयताको इस्युमा होस्, गणतन्त्रको इस्युमा होस् या परिवर्तन रुपान्तरणको इस्युमा होस् साथ दिनेहरुलाई सँगसँगै समेटेर लानुपर्ने आवश्यकता पनि छ । तर सबैभन्दा पहिले हामी आफ्नो खुट्टामा उभिने आँट गर्नुपर्छ । खुट्टामा उभिने आँट गरेनौं भने अगाडि बढ्ने र कुद्ने शाहस गरेनौं भने एकताले मात्रै केही गर्ने वाला छैन ।’

महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताउनु भयो ।