काठमाडाैं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सातौं भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ ।
काठमाडाैंमा उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नयाँ भन्सार योजना बनाउने काम चलिरहेको बताउनुभएकाे हाे । चालु आर्थिक वर्षमा छैठाैं पञ्चवर्षीय भन्सार सुधार योजना सम्पन्न हुन लागेकाले विभागले नयाँ रणनीतिक योजनाको तयारी थालेको छ । उहाँका अनुसार आगामी योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुने भएकाे हाे ।
महानिर्देशक भण्डारीले सातौं सुधार योजनाले भन्सारका दरहरूको पुनरावलोकन र व्यापार सहजीकरणलाई प्राथमिकता दिने बताउनुभयाे । नयाँ योजना र आगामी बजेटको तयारी भइरहेको बेला विभागले निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राजश्व परामर्श समिति अन्तर्गतको उपसमितिले यसकाे बारेमा काम गरिरहेको बताउदै महानिर्देशक भण्डारीले शुक्रबार बस्ने उपसमितिको बैठकअघि नै सुझाव उपलब्ध गराउन आग्रह गर्नुभयो ।
मुलुकमा हाल कायम रहेको राजनीतिक र नीतिगत स्थिरतालाई निजी क्षेत्रले सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ । स्थायित्व भएको सरकार र संसद् पाएको अवस्थामा भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउन र दीर्घकालीन नीति तय गर्न यो उपयुक्त समय भएको उहाँको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्