Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरि‌दै

रास्वपाले समर्थन गर्ने दलबाट उपसभामुख हुने निश्चित

3.7k
Shares

काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार हुने निर्वाचनको उम्मेदवारी दर्ता बिहीबार हुने भएकाे छ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको हाे । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो साढे २ बजे उम्मेदवारीको सूचना प्रकाशन गर्ने उल्लेख छ । संविधानमा सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र दलको हुनुपर्ने व्यवस्था भएकाले संसदको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पाउने छैन ।

तर उसैले समर्थन गर्ने दलबाट उपसभामुख हुने निश्चित छ । प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद रहेका हुन् ।

उपसभामुखमा एमाले बाहेकका सबै दलहरुले दावी गरिरहेका छन् ।