Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


अमेरिका र इरानबीचको युद्धविरामपछि विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर पुग्याे

676
Shares

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा भएपछि विश्व अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव देखिन थालेको छ ।

तेलको मूल्य तीव्र रूपमा घटेको छ भने विश्वभरका शेयर बजारमा उत्साह देखिएको बेलायती सञ्चारमाध्यम द गार्जियनले जनाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर आसपास पुगेको छ । यो गिरावट कोरोना महामारी शुरू भएयताको सबैभन्दा ठूलो दैनिक गिरावट हो । युरोपेली ग्यासको मूल्य पनि करिब २० प्रतिशतले घटेको छ ।

अमेरिका, युरोप र एसियाका प्रमुख शेयर बजारहरूमा तीव्र वृद्धि भएको छ । जापान र दक्षिण कोरियाका बजारहरू पनि उल्लेखनीय रूपमा बढेकाे उल्लेख गरिएकाे छ। अमेरिकी डलर अन्य मुद्राहरूको तुलनामा कमजोर बनेको हाे। हर्मुज जलमार्ग पुनः खुल्ने संकेत देखिए पनि अवस्था सामान्य नहुँदा हजारौं जहाज अनुमति कुरेर बसिरहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्राकोषले मध्यपूर्व युद्धको आर्थिक असर केही समय रहन सक्ने जनाएको हाे । लगानी, व्यापार र रोजगारीमा दीर्घकालीन असर पर्ने सम्भावना छ । जसले गर्दा तेल कम्पनीहरू घाटामा गएका छन् । युद्धविरामले बजारमा तत्काल राहत ल्याए पनि ऊर्जा आपूर्ति, व्यापार र विश्व अर्थतन्त्रमा दीर्घकालीन स्थायित्व कायम हुन नसकेको विशेषज्ञहरूको तर्क छ ।

यसैबीच पाकिस्तानको मध्यस्थतामा शुक्रबार इस्लामावादमा अमेरिका र इरानबीच शान्ति वार्ता हुँदैछ । प्रधानमन्त्री सहवाज सरिफले वार्ताका अमेरिका र इरानका प्रतिनिधिहरूलाई आउन आह्वान गर्नुभएको छ । चीनले पनि आफ्नो प्रभाव जमाउन पाकिस्तान, टर्की र इजिप्टका अधिकारीहरूसँग मध्यस्थताको भूमिका खेलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।