काठमाडौं । इरानले आफ्नो लावान टापु स्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्स तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
सरकारी सञ्चार माध्यमका अनुसार लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कदमस्वरूप उक्त आक्रमण गरेको हो। इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीले मङ्गलबार राति सङ्घर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे तेल संरचनामा आक्रमण भएको दाबी गरेको छ।
उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ। हाल घटनास्थलमा आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल टोली परिचालन गरिएको छ भने संरचना सुरक्षित बनाउने प्रयास जारी रहेको बताइएको छ। समयमै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
लावान टापुस्थित प्रशोधन केन्द्र इरानको प्रमुख तेल संरचनामध्ये एक मानिन्छ, जहाँ दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता रहेको छ। यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वका क्रममा आक्रमणको निशानामा पर्दै आएका छन्, विशेषगरी खार्ग टापु मा रहेका संरचनाहरूमा पटक–पटक हवाई आक्रमण भएको उल्लेख गरिएको छ।








प्रतिक्रिया दिनुहोस्