Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


अमेरिका र इरान विवाद: युद्ध उन्मादमा अस्थायी विराम लागेकोमा एमाले महासचिवको स्वागत

पाकिस्तानकाे भूमिकाप्रति प्रशंसा

1k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय अमेरिका र इरानबीच विकसित भएकाे युद्ध उन्मादमा अस्थायी विराम लागेको भन्दै खुशी व्यक्त गर्नुभएकाे छ।

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुवै देशबीच भएकाे हालको युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएकाे हाे । सूचना र प्रविधिको युगमा पनि कुनै सभ्यतालाई ‘ढुङ्गे युग’ मा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिकै व्यङ्ग्य भएको उहाँको टिप्पणी छ। यस्तो संवेदनशील घडीमा कतिपय विश्व शासक मौन बस्नु लाजमर्दो भएको भन्दै उहाँले मानवता निरिह बनेको स्थिति पीडाजनक रहेको उल्लेख गर्नुभएकाे छ।

महासचिव पोखरेलले युद्धको कठिन समयमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिने इरानी जनता र आफ्नै शासकका गलत नीतिको विरोध गर्ने अमेरिकी जनताले भविष्यप्रति आशा जगाएको बताउनुभयाे । उहाँले आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएकाे समेत बताउनुभएकाे छ।

महासचिव पोखरेलले अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्ष र विशेषगरी मध्यस्थतामा सक्रिय भूमिका खेलेको पाकिस्तानी नेतृत्वप्रति उनले सम्मान व्यक्त गर्नुभएकाे छ। विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको यस युद्धले प्रभुत्व कायम गर्न खोज्नेलाई पनि पछि हट्न विवश बनाएको उहाँको भनाइ थियाे ।

महासचिव पोखरेलले हिंसालाई मानवताको शत्रु भन्दै सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन अपिल गर्नुभएकाे छ ।