Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


म्याग्दीमा ३ करोड ५० लाख बढी आर्थिक लगानीमा प्रहरी चौकीकाे भवन निर्माण कार्य सम्पन्न


598
Shares

काठमाडाैं । म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा ३ करोड ५० लाख भन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा ३ करोड ५१ लाख ७ सय २९ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभित्रै निर्माण सकिएको भवनको छिटै शुभारम्भ गरेर प्रयोगमा ल्याउने तयारी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएकाे छ।

भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक र शयनकक्षहरू रहेका छन् । स्थापनाकालदेखिनै सिङगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । आफ्नै भवन भएपछि नागरिकहरूलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयाे ।

भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएकाे थियाे ।