काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्नुभएको छ ।
उहाँले शुक्रबार नयाँ पोर्टल सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानको रक्षा र न्यायको पारदर्शीताका लागि प्रविधिको प्रयोगलाई जोड दिँदै सर्वोच्चले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको उहाँले बतउनुभयो । पोर्टलको उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश मल्लले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्यौटलाई प्राथमिकतामा राखिएको बताउनुभएकाे छ । उहाँका अनुसार संवैधानिक इजलासमा हाल २ सय ८२ वटा मुद्दा विचाराधीन छन् । जसमा २०७४ सालदेखिका ८ वर्ष पुराना मुद्दाहरू समेत बाँकी रहेका छन् । सर्वोच्चले संवैधानिक इजलासका मुद्दा फर्छ्यौट गर्न निश्चित लक्ष्य निर्धारण गरेको पनि उहाँले बताउनुभयो ।
निर्वाचन सम्बन्धी विवादहरूलाई दर्ता भएको मितिले ६ महिनाभित्र निरुपण गरिसक्ने अर्को लक्ष्य पनि अदालतले तय गरेको छ । विगतमा निर्वाचनको औचित्य सकिँदा सम्म पनि मुद्दा किनारा नलाग्ने अवस्थालाई अन्त्य गर्न यस्तो समयसीमा तोकिएको उहाँले स्पष्ट पार्नुभयो । नेपालभरिका अदालतहरूमा फागुन मसान्तसम्म २ लाख ७५ हजार ६ सय ७८ मुद्दा विचाराधीन छन् । जसमध्ये ३४ दशमलव ५ प्रतिशत ९ सय ९५ हजार २ सय ४० मात्र फर्छ्यौट भएका हुन् ।
सर्वोच्चमा मात्रै २७ हजार १ सय ३१ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको तथ्यांकले देखाउँछ । नयाँ पोर्टलको माध्यमबाट सरोकारवालाले घरै बसेर मुद्दाको पेशी, तारिख, आदेश र फैसलाको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् । जसले न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया दिनुहोस्