काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकता नाईट राइडर्सलाई पराजित गरेको छ ।
भारतको कोलकताको इडन गार्डेन्स रंगशालामा बिहीबार राति भएको खेलमा हैदरावादले कोलकतालाई ६५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा १ सय ६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ रन बनाएका थिए । हैदरावादका जयदेव उनाडकटले ३ विकेट लिएका छन् ।
त्यसअघि कोलकतामा टस हारेर ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाएर २ सय २६ रन बनायो । हैदरावादका हेनरिक क्लासेनले ५२, अभिषेक शर्माले ४८ र ट्राभिस हेडले ४६ रन बनाएका छन् । कोलकताका ब्लेसिङ मुजाराबानीले ४ विकेट लिएका थिए । हैदरावादको यो पहिलो जित हो भने कोलकता लगातार दोश्रो खेलमा पराजित भएको छ ।
आईपीएल क्रिकेटमा शुक्रबार चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल नेपाली समय अनुसार शुक्रबार राति पौने ८ बजेदेखि भारतको चेन्नईमा हुने भएको छ।








प्रतिक्रिया दिनुहोस्