विराज रोस्यारा, कैलाली ।
धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज र सम्मानजनक बनाउने उद्देश्यले एक विशेष अभियान चलाइरहेको छ ।
नगरले अपाङ्गताको प्रकृतिअनुसार व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टादेखि कमोड चेयरसम्मका सामग्री घरमै पुगेर निःशुल्क वितरण गर्दै आएको छ ।
आवश्यकतामा आधारित सेवा सुनिश्चित गर्न प्रत्येक वर्ष धनगढी उपमहानगरलाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ शिविर सञ्चालन गरिँदै आएको छ ।
शिविरमार्फत पहिचान भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर सामग्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । उपमहानगरको तथ्याङ्कअनुसार विगत चार वर्षमा ४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरिएको छ ।
हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि थप १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अघि बढाइएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थिले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्