काठमाडौं । सरकार गठन भएकै दिन भदौ २३ र २४ को घटना सम्बन्धि जाँचबुझा आयोगको प्रतिवेदन कार्यान्वयन शुरु गरेको सरकारले विभिन्न राजनीतिक दलका नेताहरुमाथि लागेका भ्रष्टाचार र अकूत सम्पतिका आरोपमा पनि अनुसन्धान अगाडि बढाउन थालेको छ ।
भदौ २४ गते घरबाट पैसा उडाइएको दृष्य सार्वजनिक भएका पूर्वमन्त्री दीपक खडकालाई सीआइबीले नियन्त्रणमै लिएर अनुसन्धान अघि बढाएको छ भने अन्य ठूला नेताहरु पनि अनुसन्धानको दायरामा तानिने संभावना बढेको छ । रिपोर्ट
भदौ २४ गते आन्दोलनकारीले पूर्व उर्जामन्त्री एवंम कांग्रेस नेता दिपक खडकाको घरमा आक्रमण गर्दा विदेशी मुद्रा र नेपाली समेत गरेर ठुलो रकम फेला परेको थियो ।
खडकाको निवास आगोले ध्वस्त भए पनि उनको घरबाट उडाइएको रकमबारे अनुसन्धान हुन सकेको थिएन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक जाँचबुझ गरेर थप अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा पठाएपछि खडका आइतबार पक्राउ परेका छन । खडकामाथि घरमा भेटिएको पैसा मात्रै होइन लैनचौरस्थित स्काउटको जग्गा विवाद र उर्जामन्त्री हुँदा गरेका केही वदनियतपूर्ण निर्णयहरुमा पनि अनुसन्धान भईरहेको थियो । खड्कामाथि यसअघि पनि विभिन्न आर्थिक अपचलनका प्रश्नहरु उठ्दै आएका थिए ।
सिआइबीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट आएको पत्रका आधारमा खडकालाई नियन्त्रणमै लिएर अनुसन्धान सुरु गरेको हो । अब खडका र उनको परिवारका सदस्यका नाममा रहेका सबै सम्पत्ति तथा बैंक विवरण समेत खोजि गरेर अनुसन्धान हुनेछ । त्यसो त सरकारको निर्देशन अनुसार सम्पत्ति शुद्धिकण अनुसन्धान विभागबाटै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको पनि सम्पत्ति छानविन गर्ने तयारी गरेको छ ।
त्यसका लागि विभागले सीआइबीसंगै समन्वय गरिरहेको विभाग स्रोतको दावि छ । उनीहरुका आफन्तहरुको नाममा राखिएका सम्पत्ति खोजि गर्न समय लाग्ने भएकाले सुरुवातमा अनुसन्धानका फाइलहरु तयार पार्ने काम भईरहेको बुझिएको छ । लामो समयदेखि ओलीको स्वकिय रहेका राजेश ब्रजाचार्य सहित केही निकट नेताहरु र आफन्तबाटै खोजि हुने छ भने बैंक खाताको कारोबार समेत हेरिने छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवासमा पनि ठुलो मात्रमा रकम जलेको थियो । देउवा निवासमा जलेको रकम कति थियो भन्ने यकिन नभए पनि त्यसको अनुसन्धानका लागि सिआइबी र विभागले समन्वय गरिरहेको बुझिएको छ ।
यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल निकटको केही शंकास्पद ठेकेदार र विचौलियासंग देखिएको निकटता र उनीहरुसंगको कारोवार तथा दाहालको परिवारका सदस्यहरुको समेत सम्पत्ति राखिएको आशंकामा अनुसन्धान अघि बढने दावि गरिएको छ । तर सम्पत्ति सम्बन्धि अनुसन्धान निकै लामो समय लाग्ने छ ।
आफन्त र परिवारका सदस्यका नाममा राखिएका सम्पत्ति र विदेश लगिएका रकमको विवरण खोजि गर्नुपर्ने भएकाले सबै तथ्य खोजेर मुद्धा सम्म जान समय लाग्ने छ । गैरकानुनी रुपमा आर्जन गरेको पैसालाई कुनै व्यावसायिक अथवा वैधानिक देखाउन गरिने कुनै पनि लगानी सम्पत्ति शुद्धिकरणको परिभाषाभित्र पर्दछ । त्यस्तो सम्पति आतंकवादमा समेत लगानी भएको हुन सक्ने भन्दै नेपाल यस अघि नै सम्पत्ति शुद्धिकरणको अन्तराष्ट्रिय ग्रे लिष्टमा परिसकेको छ ।
अहिलेको सरकारले नेताहरुको मात्रै होइन देशको राज्यको प्रणाली बाहिर रहेको अवैध सम्पत्तिमाथि पनि निर्मम रुपमा कारवाही अघि बढाउन नसके मुलुक कालो सूचीमा पर्ने जोखिम उत्तिकै छ ।








प्रतिक्रिया दिनुहोस्