Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति माग्ने प्रहरीकाे तयारी

1.5k
Shares

काठमाडाैं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएकाे छ।

प्रहरीले आइतबार दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा उपस्थित गराउने भएकाे हाे । प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ । ओली पक्राउ पछि अस्पतालमा भर्ना हुनुभएको छ भने लेखकलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्य-तथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहानै ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो । जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा दुई हजार चार सय भन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी, तोड्फोड र लुटपाट भएको थियो ।