Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


गृहमन्त्री अर्यालका १ सय ९१ दिने कार्यकालः निर्वाचन सम्पन्न र कानूनी सुधार मुख्य उपलब्धि


507
Shares

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा हुनुभएको छ ।

बिहीवार गृह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उहाँले जेन–जी जनआन्दोलन पछिको सङ्कटपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराई संविधानलाई सही बाटोमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

२०८२ भदौ ३० मा कार्यभार सम्हाल्नुभएका अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निष्पक्ष निर्वाचनलाई मुख्य कार्यभार बनाएको बताउनुभयो । उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

कार्यकालका दौरान जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, ७२९ जना घाइतेलाई राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ताको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।
बिदाईका क्रममा उहाँले भन्नुभयो, ‘सबैभन्दा महत्वपूर्ण विषय निर्वाचन पश्चात संविधानले सही बाटो समातेको छ ।

जेन–जी जनआन्दोलन पश्चातको अवस्थाबाट संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन अनिवार्य थियो, जुन सम्पन्न भइसकेको छ ।’ नीतिगत क्षेत्रमा ऐतिहासिक रूपमा दुई दर्जन कानून तर्जुमा तथा संशोधन गरिएको र आन्दोलनमा क्षतिग्रस्त ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको बताउनु भयो ।