काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा कर्णाली प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।
जनकपुरमा बुधबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। कर्णालीले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४ ओभर ४ बलमा १ सय ३५ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका दिपेश कँडेलले २६ रन बनाएका थिए । कर्णालीका दिनेश अधिकारीले ५ विकेट लिएका हुन्।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३९ ओभर १ बलमा १ सय ५१ रन बनाउँदा अलआउट भयो । कर्णालीका विपिन शाहीले ६३ रन बनाएका थिए । कोशीका प्रेम कामतले ४ विकेट लिएका हुन् । प्रतियोगितामा कर्णालीको यो पहिलो जीत र कोशीको लगातार दोस्रो हार हो ।
त्यस्तै, वीरगञ्जमा बुधबारै भएको अर्काे खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेकाे छ । सुदूरपश्चिमले दिएको १ सय ६१ रनको लक्ष्य मधेशले ३३ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । मधेशका अरनिको यादवले नटआउट ४६ रन बनाएका थिए। सुदूरपश्चिमका अकोश धामीले ३ विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४३ ओभर २ बलमा १६० रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका अभिषेक पालले ३३ रन बनाएका थिए । मधेशका अरनिको यादवले ३ विकेट लिएका छन् । प्रतियोगितामा मधेशको पहिलो जीत र सुदूरपश्चिमको पहिलो हार हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाडाैंको मूलपानी मैदान, मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्