Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

वरिष्ठ नेता बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी

416
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार बस्ने भएकाे छ।

प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण सकिएलगत्तै अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको छ । हालै सम्पन्न आम निर्वाचनमा रास्वपा प्रतिनिधि सभाको सबै भन्दा ठूलो राजनीतिक दल बनेसँगै संसदीय दलको नेता चयन प्रक्रियालाई विशेष महत्त्वका साथ हेरिएको छ ।

बैठकमार्फत वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्ने रास्वपाको तयारी रहेकाे हाे। सभापति रवि लामिछानेले पार्टीको साङ्गठनिक जिम्मेवारी सम्हाल्ने र वरिष्ठ नेता शाहले संसदीय मोर्चाको नेतृत्व गर्ने गरी भएको आन्तरिक सहमतिलाई बैठकले अन्तिम रूप दिने बताइएको छ । यसका साथै बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र शुक्रबारका लागि तय भएको प्रधानमन्त्रीको शपथ ग्रहणको तयारीका विषयमा समेत विविध छलफल हुने रास्वपाले जनाएकाे हाे ।

केन्द्रीय समिति बैठक लगत्तै रास्वपाको संसदीय दलको बैठक पनि बस्ने तयारी गरिएको छ । दलको बैठकले नेता शाहलाई सर्वसम्मत रुपमा नेता चयन गर्ने रास्वपाकाे तयारी रहेकाे हाे ।