Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यमक्रम गरी मनाइँदै

प्रत्येक वर्ष क्षयरोगकै कारण विश्वमा २० लाख मानिसको निधन

117
Shares

काठमाडाैं । विश्व क्षयरोग दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यमक्रमकाे आयाेजना गरी मनाइँदैछ ।

प्रत्येक वर्ष मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउने प्रचलन रहेकाे हाे । यो वर्षको क्षयरोग दिवसको नारा ‘हो–हामी क्षयरोग निर्मूल पार्न सक्छौं’ भन्ने रहेको छ । सामान्य बोलीचालीको भाषामा टिबी भनिने यस रोगको पूर्णरुप ट्यूबरक्लोसीस हो । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समयबाट आजसम्म रहेको पाइन्छ । विश्वको एकतिहाई जनसख्याँ क्षयरोगको सङ्क्रमण जोखिममा रहेको देखिन्छ ।

विकासोन्मुख देशहरूमा यो जोखिम दर ९० प्रतिशतसम्म रहेको छ । प्रत्येक वर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेकाे तथ्यांकमा उल्लेख गरिएकाे छ। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करिब ५० प्रतिशत जनसंख्या क्षयरोगले ग्रसित छ । प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र ५ देखि ७ हजार नेपालीको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ ।

क्षयरोगीहरूको उमेर समूह धेरै जसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४ हजार ३ सय २१ डट सेवा केन्द्रहरू संचालनमा रहेका छन् । नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी फोक्सो कै क्षयरोग हुने गरेको हाे। नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।