
पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, असोज १० । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने उद्देश्यले गाउँपालिकाले विभिन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाभित्रका विद्यालय उमेर समूहका बालबालिका तथा युवा विद्यार्थीहरुलाई सहयोग गरिएको गाउँ शिक्षा समितिका सदस्य कमलप्रसाद न्यौपानेले बताए । ‘अध्ययनमा विद्यार्थीको हौसला बढाएर शिक्षाको गुणस्तरमा वृद्धि गर्ने हाम्रो लक्ष्य छ,’ खिजीदेम्बा ४ खिजीकातीका अध्यक्षसमेत रहेका न्यौपानले भने, ‘सेवा क्षेत्रभित्रका सबै नागरिकलाई समेट्ने स्थानीय सरकारको लक्ष्य अनुसार युवा विद्यार्थीका लागि यो कार्यक्रम ल्याईएको हो ।’ सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रमले मद्दत पुग्ने उनको तर्क छ ।
बुहारी पढाउँदै
खिजीदेम्बा गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट ९ जना विभिन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । गरिब, जेहेन्दार तथा सर्वोत्कृष्ट छात्रवृत्ति, बुहारी छात्रवृत्ति, दलित र जनजाति उत्कृष्ट विद्यार्थी छनौट गरेर पालिकाले छात्रवृत्ति दिएको हो ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उच्च शिक्षा अध्ययानरत ४ जना विवाहित महिलालाई प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले बुहारी छात्रवृत्ति, एसएलसीमा सबैभन्दा बढि नम्बर ल्याउने उत्कृष्ट दलित छात्र–छात्रा १÷१ जना, उत्कृष्ट जनजाति छात्र–छात्रा १÷१ जनालाई जनही १० हजारका दरले र उच्च शिक्षा अध्ययानरत गरिब तथा जेहेन्दार एक जनालाई २५ हजार रुपैयाँ सहयोग गरिएको खिजीदेम्बा गाउँपालिका ओखलढुंगाले जनाएको छ ।
बुहारी छात्रवृत्तिले सचेतना फैलाउने अपेक्षा
विवाहित महिलाहरुलाई पनि औपचारिक शिक्षा दिएर शिक्षित र सचेत समाज निर्माणमा परिचालन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । ‘छोरीलाई जस्तै बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सबैमा होस् र बुहारीहरुको पनि विद्यालयप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याईएको हो,’ अध्यक्ष रोकाले भने ।
बुहारीहरु घर गाउँमै बढी बस्ने र समुदायप्रति जिम्मेवार बन्ने भएकाले बुहारीमा लगानी बढाईएको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्