
नवीनराज कुइँकेल
लमजुङ, असोज १० । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दुईसाता अघि गएको बाढीपहिरोका पीडितलाई चिनियाँ तथा नेपाली कर्मचारी र मजदुरले आर्थिक सहयोग गरेका छन् ।
गाउँपालिकाको वडा नं. ८ मा सञ्चालित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनाको निर्माण कम्पनी सिनो सगरमाथा पावर कम्पनीमा कार्यरत कर्मचारी तथा मजदुरले आर्थिक तथा जस्तापाता सहयोग गरेका हुन् ।
सिनो हाइड्रोको लमजुङ र काठमाडौंमा कार्यरत कर्मचारी तथा मजदुरले चन्दा संकलन गरि १ लाख ४९ हजार ७ सय ६५ रुपैयाँ गाउँपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।
लमजुङमा १ लाख ९ हजार ६५ र काठमाडौंमा ४० हजार ७ सय रुपैयाँ संकलन गरि गाउँपालिकाका प्रतिनिधि होमराज तामाङ र माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत सरोकार तथा समन्वय समितिका अध्यक्ष जीतबहादुर गुरुङलाई कम्पनीका सुरक्षा निर्देशक ल्याङ चुङ पाउ र प्रशासन प्रमुख याङ चेले हस्तन्तरण गरेका हुन् ।
उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा राखिने भएको छ । यसबाहेक सिनो हाइड्रो सगरमाथा कम्पनीले मृतक परिवारलाई नगद १० हजारका दरले राहत प्रदान गरेको छ ।
यसैगरि बाढीपहिरोमा परी घर बगाएका र क्षति पुगेका परिवारका लागि एकसय पाता जस्तापाता सहयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि ०७२ बैशाखको भूकम्प पीडितलाई ७ लाख रुपियाँ बराबरको सहयोग उपलब्ध गराएको थियो ।
भदौ २७ गते तीजको दिनमा मर्स्याङ्दी गाउँपालिकाका विभिन्न ठाउँमा गएका पहिरोमा परेर ५ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका भए । १२ घर पूर्णरूपमा क्षति भएको थियो । एकसय बढी घरमा आंशिक क्षति पुगेको स्थानीयले बताएका छन् । बाढी पहिरोमा परि भैंसी, बाख्रा, माछा लगायत मरे । बाढीपहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्