काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताउनुभएको छ ।
काठमाडाैं बुधबार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थमन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे । उहाँले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताउनुभयाे । उहाँले बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको बताउनुभएकाे छ। मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उहाँले उल्लेख गर्नुभयो । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । यस्तो परिस्थितिमा केही विषयमा द्रुत गतिले निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री खनालले औंल्याउनुभयो ।
अर्थमन्त्री खनालले मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्नुभएकाे छ। शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले वाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक अवस्था देखिएको बताउनुभएकाे छ । उहाँले नेपालमा शोधनान्तर वचतमा रहेको, चालु खाता पनि वचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको जस्ता सूचकहरू सुधारका संकेत भएकाे बताउनुभयाे । त्यसैगरी नेपाल सरकारको राजश्व वृद्धिदर कम्तीमा चार प्रतिशत पुगेको र लक्ष्यको तुलनामा करिव ८३ प्रतिशत राजश्व संकलन भएको उहाँकाे भनाइ छ। यद्यपि यी सुधारहरू पर्याप्त नभएको उहाँले बताउनुभयाे ।
मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा परिचालन नहुँदासम्म, लगानीकर्ताको हातमा पूँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकका आधारमा मात्र सन्तुष्ट हुन नसकिने अर्थमन्त्री खनालले स्पष्ट पार्नुभएकाे छ।








प्रतिक्रिया दिनुहोस्