काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरु नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गर्नुभएको छ ।
काठमाडौंमा साेमबार आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताउनुभयो । यस महत्वपूर्ण समयमा एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उहाँले एनआरएनएप्रति धन्यवाद व्यक्त गर्नुभएकाे छ ।
प्रधानमन्त्री कार्कीले विश्वमाझ नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा गैरआवासीय नेपालीहरुको आचरण, व्यवहार र योगदानमा पनि निर्भर रहने बताउनुभयो । उहाँले विदेशमा बसोबास गर्ने नेपालीहरूले जहाँ रहे पनि नेपालको गौरव र संस्कृतिको प्रवद्र्धन गर्दै आएकोमा गौरव पनि गर्नुभएकाे छ । नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री जहाँ रहेपनि मातृभूमिप्रति योगदान गरिरहन समेत आह्वान गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले संघका नवनिर्वाचित संघका पदाधिकारीहरुप्रति वधाई ज्ञापन गर्दै गैरआवासीय नागरिकको हक, हित र अधिकारका पहरेदारी गरिरहन समेत सुझाउनुभएकाे छ।








प्रतिक्रिया दिनुहोस्