काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ ।
बोर्डले अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्ने जनाएकाे हाे । कतिपय बिमितले बीमाको दोहोरो सुविधा तथा फरक फरक ठाउँबाट सेवा लिएको भन्दै बोर्डले यसलाई रोक्न प्रयास थालेको छ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने बारेमा बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार दुई निकायबीच भएको समझादारी अनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत् नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरिने भएकाे हाे। अब बीमामा आबद्ध हुन आउनेलाई राष्ट्रिय परिचयपत्र समेत ल्याउनुपर्ने भएकाे छ । यदि कसैसँग राष्ट्रिय परिचय पत्र छैन भने निश्चित समयमा बनाएर पेश गर्न अनुरोध गरिनेछ ।
यहि चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण शुरु हुने भएकाे हाे । स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख बिमित आबद्ध रहेका छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ । सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्यांक एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयाे ।








प्रतिक्रिया दिनुहोस्