काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आइतबार सकिंदैछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न राजननीतिक दल गृहकार्यमा जुटेका हुन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएको छ ।
एमालेले शनिबार नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको हाे । अरू बाँकी पाँच दलले आइतबार अन्तिम निर्णय गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ । दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रम अनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ । दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कूल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।
रास्वपाले आइतबार बिहान १० बजे सचिवालय बैठक बोलाएको छ । कांग्रेसको पनि आइतबारै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएकाे हाे । नेकपा, श्रम संस्कृति र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।








प्रतिक्रिया दिनुहोस्