Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


श्रम संस्कृतिले टुंग्यायो समानुपातिक सांसद


0
Shares

काठमाडौं ।
श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ । सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ ।

सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो । विवादका बीचमा समानुपातिक सांसदको टुङ्गो लागेको श्रम संस्कृति पार्टीले जनाएको छ ।

श्रम संस्कृतिले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लगाएको छ ।

यसअघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक तर्फबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो । सोही विवादका कारण खस आर्य अन्तरगत पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । सो पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय हासिल गरेको हो । समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ ।