Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


ताल्चा–गमगढी सडक कालोपत्रे गर्न १६ करोड बजेट सुनिश्चित


312
Shares

वीरबहादुर बम,मुगु ।

१३ वर्षअघि सडक सञ्जालसँग जोडिएको नाग्मा–गमगढी सडक खण्ड अन्तर्गत ताल्चा–गमगढी सडक कालोपत्रे गर्न १६ करोड बजेट सुनिश्चित गरिएको छ । 

कर्णाली प्रदेश सरकारले उक्त सडकको ९ किलोमिटर खण्ड आर्थिक वर्ष ०८४-०८५ भित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको हो ।

सदरमुकाम गमगढीदेखि ताल्चामा रहेको रारा विमानस्थल हुँदै रारा ताल जोड्ने यो सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याले सर्वसाधारण तथा यातायातका साधनहरू सास्ती खेप्न बाध्य हुँदै आएका छन् । सडकको दयनीय अवस्थाका कारण रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गमगढी पुग्न चाहँदा–चाहँदै पनि बीचमै फर्किनु पर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

कालोपत्रे भएपछि रारा पुग्ने अधिकांश पर्यटक गमगढीसम्म पुगेर फर्किने वातावरण बन्नेछ, जसले सदरमुकामको पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले बहुवर्षीय ठेक्का प्रक्रियामार्फत प्रदेशका विभिन्न जिल्लाका योजनाहरू अगाडि बढाउने नीतिअनुसार आर्थिक वर्ष ०८२/०८३ मा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेशबाट विनियोजित स्रोत सहमतिका आधारमा यो योजना अघि बढाइएको हो ।

बहुवर्षीय ठेक्का निर्देशिका २०७९ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ । ताल्चा–गमगढी खण्डको ९ किलोमिटर सडक कालोपत्रेका लागि कुल लागत १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ अनुमान गरिएको छ ।

यो सड्क खण्ड कालोपत्रे सम्पन्न भएपछि राराको पर्यटन प्रबद्र्धन तथा सदमुकाम गमगढीको होटल व्यवसाय र अन्य व्यापार तथा सेवा क्षेत्रलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको सदरमुकाम गमगढीका व्यवसायीहरु बताउँछन् ।