काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा वर्षेनी ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जसमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेको बताउनुभएकाे हाे । वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उहाँले बताउनुभयो । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु सम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषण जस्ता समस्या पनि देखिने गरेको विज्ञहरूले बताउने गरेका छन् । त्यस्तै, वायु प्रदूषणका कारण कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन, गर्भावस्थामा मधुमेह हुनु र मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या देखिने विज्ञहरु बताउँछन ।
डब्लुएचओको मापदण्ड भन्दा नेपालमा वायु प्रदूषण ८ गुणा बढी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा बिहीबार वायु गुणस्तर सूचक १ सय ८५ सम्म पुगेको मन्त्रालयले जनाएको छ । डब्लुएचओको मापदण्डले स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर ५ माइक्रोग्राम भन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने जोखिम रहन्छ ।
वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १ सय सचेत, १०१ देखि १५१ सम्म जोखिम समूहका लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १ सय ५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ । यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु ३ दशमलव ३ वर्षले बढ्ने अनुमान गरिएको हाे । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएकाे छ।
जसमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्ने समेत बताइएकाे छ ।








प्रतिक्रिया दिनुहोस्