काठमाडाैं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेश गरेको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गरेको थियो । प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरुसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको बताउनुभएकाे छ।
संयोजक तिवारीले चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलले निकालेको बताउनुभयाे । उहाँले उपलब्ध तथ्य तथा प्रमाणको विश्लेषण गर्दा चालकले कुनै कारणवश सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अचानक अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको देखिएको बताउनुभयो । चालकमा देखिएको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको उहाँको भनाइ छ ।
संयोजक तिवारीले भविष्यमा यस्ता दुर्घटना न्युनिकरण गर्न सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, सडक सुरक्षा पूर्वाधार सुधार गर्नुपर्ने तथा रात्रिकालीन यात्रामा निगरानी बढाउनुपर्ने तथा सार्वजनिक यातायातमा क्यामेरा जडानका साथै ट्र्याकिङ प्रणाली जडान गर्न सिफारिस गरिएको समेत बताउनुभयो । छानबिन प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले प्रतिवेदनको अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभएकाे छ। उहाँले प्रतिवेदनको अध्ययन गरी अगामी दिनमा दुर्घटना हुन नदिने गरी प्रतिवेदनले सिफारिस गरेका विषयहरुको कार्यान्वयन गरिने बताउनुभयो ।
उहाँले विगतका दुर्घटना छानविन प्रतिवेदनहरुको कार्यान्वयन नभएकै कारण पनि दुर्घटना जोखिम बढेको जिकिर समेत गर्नुभएकाे छ।








प्रतिक्रिया दिनुहोस्