काठमाडाैं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ ।
ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका हुन् । ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामबद्ध राखिएका छन् । आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा तथा वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ ।
कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् । भीड-भाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ । एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक काम धन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको हाे।
बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ । जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वार्ती पुग्ने गर्छन् । अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको हाे ।
सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।



















प्रतिक्रिया दिनुहोस्