Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


मध्यपूर्वको तनावका कारण नेपाली विद्यार्थी कुवेतमा अलपत्र,१४ दिनदेखि अन्योलमा


754
Shares

दीपक बन्जारा, काठमाडाैं ।

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला ४८ नेपाली विद्यार्थीलगायत ट्रान्जिटका क्रममा कुवेतमा रोकिएका छन् ।

विदेश अध्ययन, भ्रमण, पारिवारिक भेटघाट, व्यापार तथा अन्य कामका सिलसिलामा विभिन्न देशतर्फ जाने क्रममा उनीहरु कुवेत पुगेका थिए ।

प्राप्त जानकारीअनुसार उनीहरू बेलायत, डेनमार्क लगायत अन्य देशहरूतर्फ जाने तयारीमा रहेका थिए । तर उडान तालिका पटक–पटक परिवर्तन हुनुका साथै विभिन्न व्यवस्थागत कारणले उनीहरू आफ्नो गन्तव्यतर्फ अगाडि बढ्न नसकेपछि कुवेतमै रोकिन पुगेका हुन्। उडानको टुंगो नलाग्दा उनीहरू १४ दिनदेखि त्यहीँ रोकिन बाध्य छन् ।

सुरुमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उनीहरु लामो समयसम्म उडानको निश्चितता नहुँदा हाल कुवेतको एक होटलमा आफ्नै खर्चमा बसिरहेका छन् । उडानको टुंगो नलाग्दा उनीहरू आर्थिक तथा मानसिक दबाबमा परेका छन् ।
अलपत्र परेका विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कुवेतस्थित नेपाली दूतावास, आफ्ना परिवार, आफन्त तथा साथीभाइहरूसँग सहयोगको अपिल गरेका छन् ।

उनीहरूले आफूहरूलाई सुरक्षित रूपमा गन्तव्य देशसम्म पठाइन दिन वा सम्भव नभए नेपाल फर्किन सहयोग गरिदिन आग्रह गरेका छन् । यस विषयमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पनि चासो दिएको छ । मन्त्रालय स्रोतका अनुसार कुवेतस्थित नेपाली दूतावाससँग समन्वय गरेर विद्यार्थीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने तथा आवश्यक सहजीकरण गर्ने प्रयास भइरहेको छ ।

अलपत्र परेका विद्यार्थीहरूले ईमेजकर्मी दीपक बन्जारालाई समेत आफ्नो समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । यसै विषमा फागुन २८ गते बन्जाराले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेट गरी कुवेतमा रहेका नेपाली विद्यार्थीलगायतका समस्या बताएका थिए ।

भेटका क्रममा मन्त्री शर्माले कुवेतमा ट्रान्जिटमा रोकिएका नेपालीको अवस्थाबारे आफूहरू जानकार रहेको बताउँदै उनीहरूको समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिए ।

उनले सकेसम्म सम्बन्धित निकायहरूसँग छिटो समन्वय गरी नेपालीहरुलाई सुरक्षित रूपमा गन्तव्य देशतर्फ पठाउने वा आवश्यक परे अन्य वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल कुवेतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायहरूबीच समन्वय गरी समस्या समाधानका लागि पहल भइरहेको जनाइएको छ ।