काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्ताे बताउनुभएकाे हाे । हाल बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरूको परीक्षण गर्ने क्षमता राज्यसँग नभएको यथार्थलाई उहाँले स्वीकार गर्नुभएकाे छ। मन्त्री गौतमले प्रयोगशालाको भौतिक तथा जनशक्ति विकासमा सरकारले काम शुरु गरिसकेको समेत बताउनुभयाे । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको प्रारम्भिक विश्लेषणअनुसार नेपालको औषधि व्यवस्था विभाग हाल ‘लेभल वान’ (स्तर एक) मा मात्र रहेको र यसलाई कम्तीमा ‘लेभल थ्री’ वा ‘लेभल फोर’मा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। गुणस्तरहीन र म्याद गुज्रिन लागेका कच्चा पदार्थ ९र–म्याटेरियल० भित्रिन नदिन र उत्पादित औषधिको सही विश्लेषण गर्न अत्याधुनिक प्रयोगशाला अनिवार्य रहेको उहाँको भनाइ छ ।
प्रयोगशाला सुधारका लागि सरकारले ‘ओ एण्ड एम’ (संगठन तथा व्यवस्थापन) सर्वेक्षण सम्पन्न गरी नयाँ दरबन्दी सिर्जना गर्न स्वीकृति पाइसकेको मन्त्री गौतमले जानकारी दिनुभयो । नयाँ प्रयोगशाला भवन निर्माणका लागि सिंहदरबारभित्रको पुरानो स्वास्थ्य मन्त्रालयको जग्गा र बाराको पथलैयामा समेत सम्भाव्यता अध्ययन गरिएको तर जनशक्ति र अन्य प्राविधिक कारणले हालकै स्थानमा पुरानो भवन भत्काएर नयाँ अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको उहाँले बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्