काठमाडाैं । यहि फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि भएकाे निर्वाचनको मतगणनाकाे कार्य सम्पन्न भएकाे छ।
प्रत्यक्षतर्फ जस्तै समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले जित हासिल गर्दै पहिलाे दल बनेकाे हाे। निर्वाचन आयोगले समानुपातिकतर्फ कूल खसेको १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये ४ लाख ५० हजार ८३ मत बदर भएको जनाएकाे छ । १ करोड ८ लाख ३५ हजार सदर मत गणना हुँदा रास्वपाले ५१ लाख ८३ हजार मत कटाएको छ । यो कूल सदर मतको ४८ प्रतिशत बढी हो ।
त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ५९ हजार र नेकपा एमालेले १४ लाख ५५ हजार मत प्राप्त गरेका छन् । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार मत प्राप्त गरेकाे हाे । श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार मत प्राप्त गरेकाे छ । यी ६ वटा राजनीतिक दलहरुले यस पटक समानुपातिकको थ्रेसहोल्ड कटाएका छन् । समानुपातिकमा मत प्राप्त गर्ने अन्य ५१ वटा राजनीतिक दल रहे पनि उनीहरुले थ्रेसहोल्ड पार गर्न नसकेकाे आयाेगले जनाएकाे हाे ।
दलहरुले प्राप्त गरेको मतको आधारमा समानुपातिक प्रणालीबाट रास्वपाले ५७ जना सांसद पाउने भएको छ । प्रत्यक्षतर्फको १ सय २५ जोड्दा नयाँ संसदमा रास्वपाका १ सय ८२ सांसद हुने भएका हुन् । यो संख्या दुई तिहाईको लागि दुई सिट कम हो । कांग्रेसले समानुपातिकर्फ २० र प्रत्यक्षमा १८ गरि कूल ३८ सिट पाएको छ । एमालेले समानुपातिकमा १६ र प्रत्यक्षमा ९ गरि २५ सिट पाउँदा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट जोडेको हाे ।
प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टी र एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट ४/४ जना सांसद पाउने भएका छन् ।







प्रतिक्रिया दिनुहोस्