Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधिसभा निर्वाचन: देशैभरी ५ घण्टामा करिब ३२ लाख मत खस्यो (सूचीसहित)


156
Shares

काठमाडौं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ।

५ घण्टाको अवधिमा देशैभरी करिब ३२ लाख मत खसेको हाे । बिहीबार बिहान ७ बजेदेखि शुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म ३१ लाख ९० हजार ८८ मत खसेको छ । यो मत कूल मतदाताको १६ दशमलव ८८ प्रतिशत हो । सबै भन्दा बढी काठमाडौं उपत्यकामा २५ दशमलव ५५ प्रतिशत मत खसेको छ । सबै भन्दा कम मधेश प्रदेशमा १० दशमलव ४६ प्रतिशत मत खसेको हाे।

निर्वाचन आयोगले बिहीबार साँझ ५ बजेसम्म मतदानको समय तोकेको हाे । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको छ । निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन् । समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाईएको छ । देशभरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता मत खसाल्न योग्य रहेकाे आयाेगले जनाएकाे हाे ।

देशभरी १० हजार ९ सय ६७ मतदानस्थल, र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ । चुनाव गराउन ५ लाख ५६ हजार कर्मचारी र सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । २ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी र ३४ हजार ५ सय ७६ जना सशष्त्र प्रहरी चुनावको लागि खटाइएको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनको परिणाम स्वरुप तात्कालिन संसद विघटन भई प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन लागेको आयाेगले जनाएकाे हाे ।