काठमाडाैं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभयाे । यो निर्वाचनलाई गत भदौ २३–२४ गते भएकाे जेनजी विद्राेहपछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गर्नुभएकाे छ । निर्वाचनको नतिजाकाे बारेमा विश्लेषण गर्दै उहाँले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गर्नुभयो । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उहाँको तर्क छ ।
पूर्वउपाध्यक्ष पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाउनुभयो । बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपकाे बारेमा निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उहाँले नेपालमा भने राजनीतिक दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको बताउनुभयो ।
अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाकाबीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पूर्वउपाध्यक्ष पाण्डेले समेत धन्यवाद दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्