Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


निर्वाचन तयारी पुरा : निर्वाचन आयोग (भिडियाे रिपोर्ट)


182
Shares

काठमाडाैं ।
अनेक आशंकाकाबीच प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मुलुक आइपुगेको छ । निर्वाचन आयोगसहित सरकारका सबै संयन्त्र निर्वाचन स्थलमा तैनाथ भैसकेका छन् भने बिहीबार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न मात्रै बाँकी छ ।

जेनजी आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति व्यहोरेपछि हुन लागेको निर्वाचन भयरहित वातावरणमा हुने दाबी पनि आयोगले गरेको छ ।

२०७९ सालको आम निर्वाचनमा मतदान गरेको करिब साढे तीन वर्षमा नेपाली नागरिकहरु पुनः मत दिनुपर्ने अवस्थामा आइपुगेका छन् । गत भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यता आईलागेपछि हुन् लागेको यो निर्वाचन देशको राजनीतिक भविष्यका लागि उतिकै महत्वपूर्ण छ ।

निर्वाचन आयोगले बिहीबारको निर्वाचनका लागि सबै संयन्त्र मतदानस्थलहरुमा तैनाथ भइसकेको बताएको छ । शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको छ भने मतदानपछि मतपेटीका संकलन र ढुवानीमा पनि कुनै सम्झौता नगर्ने आयोगले स्पष्ट पारेको छ ।

विभिन्न दुर्गभ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटीका संकलन हुने छ भने मतगणनाका लागि पनि जिल्ला निर्वाचन कार्यालयहरुबाट स्थान सुरक्षित गरिएको जनाएको छ ।

मतदानका लागि यस अघिको जस्तै पहिलो घेरामा नेपाली प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहनेछन भने मतपेटिकाको मुचुल्का र संकलनमा राजनीतिक दलका प्रतिनिधिहरु समेत हुने भएकाले निर्वाचनको निश्पक्षतामा प्रश्न नउठाउन आयोगले आग्रह गरेको छ ।