काठमाडाैं। फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने जनाएकाे हाे । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । मंगलबार साँझ ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुने भएकाे छ । बेलुका ७ बजेर ४ मिनेटमा चन्द्रग्रहण सकिने उहाँकाे भनाइ छ।
नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने भएकाे छ। चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र आँखालाई असर नगर्ने खगोलविद्ले बताएका हुन् । खुला ठाउँबाट पनि नाङ्गो आँखाले हेर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्ने शास्त्रीय परम्परा छ ।
मंगलबार बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन गर्न नहुने भनिए पनि बालबालिका, रोगी, अशक्त, वृद्ध-वृद्धा लगायतलाई नियम पालना अनिवार्य छैन । यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिने आज बेलुका खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्