Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अमेरिका-इजरायल संयुक्त आक्रमण: इरानी प्रमुख सैन्य कमाण्डरसहित सल्लाहकारको पनि निधन


2.5k
Shares

एजेन्सी । अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको संयुक्त आक्रमणमा परी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित इरानका अति शक्तिशाली व्यक्तित्वहरूको समेत मृत्यु भएको छ।

इरानी सरकारी समाचार संस्था इर्नाले सर्वोच्च नेताका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रतिरक्षा परिषदका सचिव अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआर्जीसी) का कमाण्डर-इन-चिफ मोहम्मद पाकपोर मारिएको पुष्टि गरेको हो। इरानी सञ्चारमाध्यमहरूले खामेनीलाई ‘शहीद’ को संज्ञा दिँदै उनको मृत्युले देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको घोषणा गरेको केही घण्टापछि इरानले पनि आइतबार यसको आधिकारिक पुष्टि गरेको थियो।

राष्ट्रपति ट्रम्पले खामेनीको उत्तराधिकारी को हुनुपर्छ भन्ने बारेमा आफूसँग राम्रो योजना रहेको बताउँदै आवश्यकता परे इरानमाथि थप आक्रमण जारी राख्ने चेतावनी समेत दिनुभएकाे छ। यो भीषण आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको समेत ज्यान गएको समाचारमा उल्लेख छ। यस घटनापछि इरानमा ४० दिनको राष्ट्रिय शोककाे समेत घोषणा गरिएको हाे।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानी संविधान अनुसार देश सञ्चालनका लागि नयाँ प्रक्रिया शुरु भएको छ। अब इरानी राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक धर्मगुरु सम्मिलित परिषद्ले देशको नेतृत्व सम्हाल्ने भएका हुन्।

अर्कोतर्फ, इजरायलले इरानमाथि आक्रमणको नयाँ शृङ्खला शुरु भएको घोषणा गरेको छ । यूएई र बहराइनमा पनि इरानी पक्षबाट जवाफी आक्रमण भएका विवरणहरू सार्वजनिक भएका हुन्। यी सबै घटनाक्रम अमेरिकी राष्ट्रपति ट्रम्पकाे याेजनामा भइरहेकाे जनाइएकाे छ ।