काठमाडाैं । श्रीलंकालाई पराजित गरेता पनि पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्न असफल भएको छ ।
श्रीलंकाकाे पल्लेकेलेमा शनिबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली श्रीलंकालाई ५ रनले पराजित गरेकाे हाे । पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका कप्तान दसुन शनाकाले नटआउट ७६ रन, पवन रथनायकेले ५८ रन बनाए । पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनायो । पाकिस्तानका शाहिबजादा फरहानले १ सय रन, फखर जमानले ८४ रन बनाए । श्रीलंकाका दिनशान मदुशन्काले ३ विकेट लिए । सेमिफाइनलमा पुग्नका लागि पाकिस्तानले श्रीलंकालाई १ सय ४५ रनमा रोक्नुपर्ने थियो । योसँगै ‘सुपर–एट’ को समूह २ बाट न्युजिल्यान्ड नेट रनरेटमा अघि रहेर सेमिफाइनलमा पुगेको छ । श्रीलंका यसअघि नै बाहिरिइसकेको थियो । यो समूहबाट यसअघि इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
विश्वकपमा आइतबार ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुने भएका छन् । पहिलो खेलमा आइतबार दिउँसो पौने ३ बजेदेखि जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दाेस्राे खेल भने आइतबार बेलुका पौने ७ बजे भारत र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुने भएकाे छ। यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हाे । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने भएकाे छ ।
जिम्बाब्वे यसअघि नै बाहिरिइसकेको छ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल यहि फागुन २४ गते हुने भएकाे हाे।







प्रतिक्रिया दिनुहोस्