Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


जेनजी युवाकाे प्रदर्शनमा प्रहरी प्रमुखले गोली चलाउन आदेश दिएकाे बीबीसीकाे दावी


9.2k
Shares

काठमाडाैं । नेपालमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरुमाथि गोली चलाउन तत्कालिन प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलासा गरेको छ ।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ को घटनाक्रमको विस्तृत विवरण भएको प्रहरीको एक आन्तरिक कागजात फेला पारेको दावी गरेको हाे । यसले ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको देखाउँछ । यो आदेश फिल्डमा रहेका अधिकारीहरूले गोली चलाउन पटक–पटक अनुमति मागेपछि दिइएको थियो । वाकेटकीबाट सञ्चारका लागि प्रयोग गर्न प्रहरीमा कल साइन राखिन्छ । ‘पिटर १’ प्रहरी महानिरीक्षक (आईजीपी) का लागि प्रयोग हुने कल साइन हो । भदौ २३ गते काठमाडौंमा मारिएका १९ जनामध्ये स्कुलको पोशाकमा रहेका एक किशोर पनि थिए ।

भीडबाट फर्किदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो । बिबिसीले यो सहित ४ हजारभन्दा बढी भिडियो र फोटोहरूको विश्लेषण गरेर यस घटनाको सिलसिलेवार विवरण तयार पारेको उल्लेख गरेको छ । जेन–जी भनेर चिनिने युवा पुस्ताले गरेको यो प्रदर्शनमा गोली चलेपछि आन्दोलन थप चर्किएको थियो । जसको फलस्वरूप भदौ २४ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य हुनुभएको थियो । त्यसपछि प्रदर्शनकारीहरुले संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संरचना जलाएका थिए । भदौ २३ गतेको घटनाहरूकाे बारेमा अहिले पूर्वन्यायाधिश गौरिबहादुर कार्कीको आयोगले छानबिन गरिरहेको छ । तर यसको प्रतिवेदन आउन बाँकी छ ।

साेही प्रकरणमा अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।