काठमाडाैं । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार प्रहरी समक्ष बुझाएका छन् ।
निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको हाे। बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् । जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बागलुङले फागुन २१ गते हुने प्रतिनिभिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निजी हातहतियार बुझाउन आग्रह गरे अनुसार अहिलेसम्म ५९ थान हातहतियार जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ ।
प्रशासनले बागलुङमा दर्तावाला मात्रै १ सय ४२ हतियार रहेकाे जनाएकाे हाे । निर्वाचनको समयमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्ने र शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकामा अहिलेसम्म ५९ थान लाइसेन्स प्राप्त भरुवा, ‘सट गन’ लगायत हतियार प्राप्त भएको प्रमुख जिल्ला आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन अघिसम्म हतियार बुझाउन पाइने पनि उहाँले जानकारी गराउनुभएकाे हाे । समयमा नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गर्ने समेत उहाँकाे चेतावनी छ । निर्वाचनलाई मध्यनजर गर्दै गत माघ ८ गते बसको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचन लक्षित गरी चलाएको ‘सर्च अप्रेशन’मा ११५ थान अवैध हातहतियार बरामद गरेको थियो । एक सय १५ थान हतियार अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्