काठमाडाैं ।
सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् ।
यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार करिव ५० लाख १९ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।
आगलागीका प्रमुख घटना
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बकुलाछापमा विद्युतीय मिटर सर्ट भएर घर पूर्ण रूपमा जलेको छ । यसबाट अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ पिप्लेमा पनि विद्युत सर्टबाट दुई घर जलेर १३ लाख रुपैयाँको क्षति पुगेको छ । धनकुटाको चौकिसे गाउँपालिका–१ बुधबारेमा गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन् भने २ बाख्रा घाइते भएका छन् ।
यसबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तेह्रथुमको फेदाप गाउँपालिका–२ पिपलबोटेमा खोले पकाउने आगोबाट गोठ र घर जलेर ३ लाख रुपैयाँ क्षति भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलमतामा पाखाबारीको आगो सल्किएर दुई खाली घर जलेका छन् । यसबाट काठपात र भाँडाकुँडासहित ६ लाख ५० हजार रुपैयाँको क्षति पुगेको छ । सिरहाको मिचैंया नगरपालिका–९ ननुवा टोलमा ५२ वर्षीया महिलालाई ग्यास सिलिन्डरबाट आगलागी हुँदा शरीरको ३० प्रतिशत भाग पोलेर घाइते भएकी छन् । उनी स्थानीय अस्पतालमा उपचाररत छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ मा जचया पसलमा आगलागीबाट १ लाख ५१ हजार रुपैयाँ क्षति भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुडामा मैनबत्ती छोड्दा कोठाको सामान पूर्ण नष्ट भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ बनतडीमा घर पूर्ण रूपमा जलेको छ, क्षतिको विवरण आउन बाँकी छ । यी घटनामा प्रहरी, दमकल, अपर पोस्ट, प्रचौ टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।
त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्षेपमा ५० वर्षीय पुरुष सगरमाथा आधार शिविर भ्रमणका क्रममा अचानक बिरामी परेका थिए । उनलाई लुक्ला अस्पताल पु¥याउँदा उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका–५ रिठामा ४५ वर्षीया महिलालाई घरभित्र चट्याङ लागेर घाइते भएकी छन् । उनलाई गोकुलेश्वर अस्पताल पठाइएको छ । झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा ५० वर्षीया महिलालाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । उनी अस्पतालमा उपचाररत छन् ।
मौसम अवस्था
उक्त समयमा २९० वर्षा मापन केन्द्रमध्ये १४ वटामा मात्र वर्षा भएको छ । सबैभन्दा बढी १०.८ मिलिमिटर वर्षा बझाङको चैनपुर केन्द्रमा मापन भएको छ । न्युनतम तापक्रम सबैभन्दा कम –१.८ डिग्री सेल्सियस जुम्लामा रहेको छ भने अधिकतम तापक्रम ३२.८ डिग्री सेल्सियस सिराहाको लहानमा पुगेको छ। सुख्खा र चिसो मौसमले आगलागीको जोखिम बढाएको छ । प्राधिकरणले आगलागीबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् सम्बन्धी थप सूचना तथा सन्देशका लागि आधिकारिक ट्विटर,फेसबुक र युट्युब च्यानल हेर्न सुझाव दिएको छ ।






प्रतिक्रिया दिनुहोस्