मनाङ ।
मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमपातका कारण केही मतदान केन्द्रको अनुगमन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार विशेष गरी नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कठिनाइ भएको छ। चिसो र प्रतिकूल भौगोलिक अवस्थाका कारण त्यहाँका केन्द्र अनुगमन हुन नसकेको उनले बताए।
ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन सम्पन्न भएको छ भने चामे र नासोँ गाउँपालिकाका केन्द्रको यसअघि नै अनुगमन भइसकेको छ। नार्पाभूमिका पाँच मतदान केन्द्रमध्ये तीन नार क्षेत्रमा र दुई फू क्षेत्रमा रहेका छन्। सदरमुकाम चामेबाट त्यहाँ पुग्न पैदल दुई दिन लाग्ने गर्दछ।
नार्पाभूमिमा ४८८ मतदाता रहेका छन्। मौसम अनुकूल नभए अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा छलफल भइरहेको जनाइएको छ। जिल्लामा कुल सात हजार मतदाता रहेका छन्।
मनाङमा प्रतिनिधिसभा सदस्यका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।






प्रतिक्रिया दिनुहोस्