खुशी माया गुरूङ-संवाददाता
लमजुङ । लमजुङमा यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न सिकाउने तथा मतदानको समग्र प्रकृयाा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीको भूमिकालाई प्रभावकारी बनाउन नमुना मतदान भएको छ ।
जिल्ला सुरक्षा समितिको आयोजनामा बेसीशहरस्थित फुलबारीमा शुक्रबार उक्त अभ्यास गरिएको हो । बदर मत न्यूनिकरण, मतदातालाई मतदान प्रक्रियाकाे बारेमा व्यावहारिक जानकारी दिन र निर्वाचनकाे समयमा हुन सक्ने सम्भावित घटनाको व्यवस्थापनकाे बारेमा सचेतना फैलाउन यस्ता नमुना मतदान सञ्चालन गरिन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, निर्वाचन कार्यालयका कर्मचारी तथा सर्वसाधारणले मतदान केन्द्रमा अभ्यास गरिएको हाे । लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाले नागरिकलाई आफ्नो मतको सही सदुपयोग गर्न सक्षम बनाउन यस्तो कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
नमुना मतदानमा ८ सय मध्ये ६ सय ९५ मत खसेको थियाे । बदर मत भने शून्य रहेकाे जनाइएकाे छ।






प्रतिक्रिया दिनुहोस्