काठमाडाैं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज साधु सन्तहरुलाई दक्षिणासहित बिदाई गरेका हुन् ।
साधु सन्तहरु नेपाल प्रवेश गरेदेखि खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गर्दै आएका छन् । गुठी संस्थान र कोषले साधुसन्तहरुको वर्गीकरण गरी दक्षिणा दिँदै आएका छन् । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।
गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तहरुका मुखियाले भने अनुसार बाबाहरुको वर्गीकरण गरेर दक्षिणा दिइएको बताउनुभयो । साधुसन्त बिदाईकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाई गरेको हो ।
भारत र नेपालका विभिन्न स्थानबाट नागा बाबाहरुसहित सयौं साधु सन्तहरूले शिवरात्रिमा आएका थिए । शिवरात्रीमा साधु सन्तहरु विनाको पशुपतिनाथ अधुरो मानिन्छ । विदाईसंगै उनीहरु आ–आफ्ना अखडातिर लागेका छन् ।






प्रतिक्रिया दिनुहोस्